वि.सं.२०८२ फागुन १५ शुक्रवार

उमागौरी सहकारीका अध्यक्षसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी

मोरङको धनपालथान–४ कर्सियास्थित उमा गौरी कृषि सहकारी संस्थाको रकम अपचलन अनुसन्धानका लागि अध्यक्षसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत मोरङबाट १० जनाको नाममा पक्राउ अनुमति लिएर प्रहरीले अनुसन्धान थालेको हो ।

यसरी पक्राउ पुर्जी जारी हुनेमा सहकारीका अध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद रौनियार, सहकारीका उपाध्यक्ष कटहरी–२ का लक्ष्मण साह, सचिव धनपालथान–४ का आलम अन्सारी मियाँ, कोषाध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद सिंह र सदस्यहरू जहदा–४ का आमोद मण्डल, धनपालथान–४ का रोशन राजवंशी र धनपालथान–२ का जितमान ठाकुर रहेका छन् ।

त्यसैगरी सहकारीको लेखा समितिका संयोजक विजयकुमार यादव, सदस्यहरू सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।

उमागौरी सहकारीको बचत अपचलन विषयमा जिल्ला अदालत मोरङबाट १० जनाविरुद्ध पक्राउ अनुमति लिएर अनुसन्धान सुरु गरिसकेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए । उनका अनुसार सहकारी संस्थाको वर्तमान सञ्चालक समितिका ७ र लेखा सुपरिवेक्षण समितिका ३ गरी १० जनाविरुद्ध पक्राउ अनुमति लिइएको छ ।

उमागौरीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको देखिन्छ । सहकारीले फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १ सय ५६ रुपैयाँ छ । १८ करोड ४० लाख कुल पुँजी देखाइएको सहकारीको वासलात रिपोर्टमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ ।

नेता पत्नीलाई उन्मुक्ति
यो सहकारीको ठगी प्रकरणमा संसदको सार्वजनिक लेखा समिति सभापति तथा एमाले नेता ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला पनि जोडिएकी छन् । उमागौरी सहकारीको पूर्वसञ्चालक अञ्जला कोइराला कालोसूचीमा छिन् । सहकारी संकटमा परेपछि कोइरालाले ५ माघ २०७८ देखि सहकारीबाट राजीनामा दिएकी थिइन् ।

रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी पूर्वसञ्चालक समिति सदस्य कोइरालाविरुद्ध भने पक्राउ पुर्जी जारी गरिएको छैन । अञ्जला प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी हुन् ।

सहकारीले समयमा ऋण चुक्ता नगरेको कारण देखाउँदै अञ्जलासहितका तत्कालीन सञ्चालक समितिका पदाधिकारीलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा राखिएको थियो । आरएसडीसीले उमा गौरी सहकारीका नाममा ०७९ कात्तिक १६ मा निकालेको कर्जा चुक्तासम्बन्धी सूचनामा अन्य सञ्चालकसँगै अञ्जलाको पनि नाम र तस्बिर छापिएको थियो ।

प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले उमागौरी कृषि सहकारीको रकम अपचलनमा अनुसन्धान गर्न गत भदौ २४ मा रंगेली प्रहरीलाई लेखेको पत्रमा अञ्जलाबाहेक १० जनाको नाम थियो । कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले पनि उही भाषाको पत्र प्रहरीलाई पठाएको थियो ।

२०६८ सालमा स्थापित उमा गौरी कृषि सहकारीमा अञ्जला दुई कार्यकाल सदस्य थिइन् । उनले २०७८ माघ ५ मा सहकारीबाट राजीनामा दिएको बताएकी छन् । आरएसडीसी लघुवित्त संस्थाबाट उक्त सहकारीले ऋण लिने निर्णय गर्दा अञ्जलाले ‘माइन्युट’ मा हस्ताक्षर गरेको पाइएको छ । आरएसडीसीले उच्च अदालत विराटनगरमा उपलब्ध गराएको कागजातअनुसार ०७७ पुस २९ मा थप ३ करोड रुपैयाँ कर्जा माग गर्ने सहकारीको निर्णयमा पनि अञ्जलाको हस्ताक्षर छ ।

‘माइन्युट’ मा उल्लेख गरिएको विवरणअनुसार सहकारीले ०७७ पुस २९ अगावै पनि लघुवित्तबाट ४ करोड २५ लाख कर्जा लिई कारोबार गरिरहेको र लगानी विस्तार गर्न थप ३ करोड कर्जा माग गर्ने निर्णय भएको थियो । उक्त लघुवित्तबाट प्राप्त हुने कर्जा सहकारीका नाममा नबिल बैंकको विराटनगर शाखामा रहेको खातामा जम्मा गर्न आग्रह गर्ने पनि ‘माइन्युट’ मा उल्लेख छ ।

कर्जा लिने विषयमा भएका तीन वटै बैठकमा संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष दिलमाया राई, कोषाध्यक्ष शम्भुप्रसाद सिंह, सचिव आलम अन्सारी मियाँ तथा सञ्चालकहरू अञ्जला कोइराला, आमोद मण्डल र रोशन राजवंशी उपस्थित थिए ।

उमा गौरी कृषि सहकारीले ०७७ असोज २८, ०७७ फागुन १३ र ०७८ असार २४ मा लघुवित्तबाट ऋण लिएको र अञ्जलाले सहकारीको सञ्चालक समितिको पदाधिकारीका हैसियतमा सामूहिकरव्यक्तिगत धनजमानी दिएको आरएसडीसीको दाबी छ ।