वि.सं.२०८१ माघ १ मंगलवार

लौरोको उम्मेदवार थिङ कोरिया पठाउँछु भन्दै ठग्दै, भाग्दै..!

असली धन्दा बाहिरिएपछि भागाभाग

काठमाडौं । गत मंसिरमा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार थिए अमृत थिङ तामाङ । तर उनी बैदेसिक रोजगारीमा ठगीमा संलग्न रहेको पाइएपछि उनको भागाभाग भएको छ ।

स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा बालेन साह, धरान उपमहानगरपालिकामा हर्क साम्पाङले लौरो चुनाव चिन्ह लिएर जितेपछि अमृत थिङले पनि चितवन निर्वाचन क्षेत्र नं. २ बाट लौरो चुनाव चिन्ह लिएर उठेका थिए । तर, उनको असली धन्दा बाहिरिएपछि अहिले भागाभाग भएका छन् ।

चितवनको नारायणगढ मै घर भएका थिङले कोरिया पठाइदिन्छु भन्दै धेरै जनासँग पैसा उठाउँदै आएका छन् । पैसा उठाएका मध्ये केहीलाई भने पैसा फिर्ता गरेका छन् भने कतिपयको पैसा पचाउन अनेक नाटक गर्ने गरेका छन् ।

थिङले नवलपरासीका बिमला गुरुङ, रसुवाका मिङ्मार ग्याल्बो घले, रसुवाकै मिङ्मार यामो घले लगायतलाई २ महिनाभित्र कोरिया पठाई दिन्छु भन्दै प्रतिव्यक्ति दुई लाखका दरले २०७९ भदौं १५ मा पैसा उठाएका थिए ।

एकै लटमा कोरिया पठाउँछु भन्दै पैसा लिएपछि उनले पीडितको पैसा झ्वाम पार्न उल्टै विभिन्न आरोप लगाउने गरेका छन् ।

अमृत थिङ छाया सेन्टर ठमेलमा रहेको गुडमिल अमृत निर्माण सेवाका सञ्चालकसमेत हुन् । उनले सबैसँग राहदानी पनि लिएका थिए । तर कोरिया पठाउन सम्भवन नभएपछि राहदानी भने फिर्ता गरेका छन् । तर, पैसा भने फिर्ता नगरी पीडितलाई उल्टै धम्क्याउने गरेका छन् ।

‘पहिले कुनै समस्या आउँदैन, समयमै कोरिया पठाउँछु भन्दै पैसा र पासपोर्ट मागे’ पीडित बिमला गुरुङले भनिन्, ‘अहिले पैसा फिर्ता माग्दा ब्लाकमेलिङ गरेको ? पैसा दिन्न भन्दै धम्क्याउनुहुन्छ । हामी त समस्यामा परेका छौं ।’
यो विषयमा जानकारी लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

पटकपटक उनको मोवाइलमा सम्पर्क गर्दासमेत उनले फोन उठाएका छैनन् । थिङले पैसा तिर्ने जतिको फोन नम्बर पनि ब्ल्याक लिष्टमा राखेका छन् ।