वि.सं.२०८१ साउन १० बिहीवार

जाँडले टिल भएका वरिष्ठ सईद्वारा स्थानीयमाथि कुटपिट : आँखाको अपरेसन गर्न पिडित तिलगंगामा

नेपाल प्रहरीका वरिष्ठ सई परशुराम जोशी र ट्राफिक प्रहरीका जवान प्रकाश अधिकारीले मादक पदार्थ सेवन गरि कुटपिट गरेको भन्दै गृह मन्त्रालयमा उजुरी परेको छ ।

घर फर्किने क्रममा आफुलाई रोकेर कुटपिट गरेको भन्दै मजुवा चौकी देउरालीमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ सई परशुराम जोशी र ट्राफिक प्रहरीका जवान प्रकाश अधिकारीले कुटपिट गरेर आँखामा गम्भीर असर पुर्याएको भन्दै गोरखा नगरपालिका वडा नं १३ गोरखाका विशाल थापाले मन्त्रालयमा उजुरी दिएका हुन् । कुटपिट गर्दा दुवै प्रहरी जाँड खाएर टिल भएको उनको दाबी छ ।

आँखामा चोट पुगेका थापा काठमाडौँस्थित तिलगंगा आँखा अस्पतालमा उपचाररत् छन् । चिकित्सकका अनुसार उनको आँखाको शल्यक्रिया गर्नुपर्ने भएको छ । थापाका अनुसार वरिष्ठ सई र जवान अधिकारीले समाजमा दादागिरी मच्चाउने गरेका छन् ।

उजुरीकर्ता थापाले आफ्नो उपचारको प्रबन्ध मिलाई शान्ति सुरक्षा कायम गर्न माग गरेका छन् । घटना १ महिना अघिको हो । यो सन्दर्भमा गोरखा प्रहरी प्रमुखको सम्पर्क नं ९८५६०९०२५५ मा फोन गर्दा सम्पर्क हुन सकेन ।