वि.सं.२०८३ कात्तिक २२ आइतवार

३० वर्षपछि फेरि भयो कार्यकाल बाँकी छँदै आईजी हटाउने विवादास्पद निर्णय, यस पल्ट न्यायालयको परीक्षा

काठमाडौं । नेपाल प्रहरीको सर्वोच्च नेतृत्व परिवर्तन गर्ने फोहोरी खेलका सन्दर्भमा ३० वर्षमा खोलो फर्किएको छ ।

हालैको मन्त्रिपरिषद निर्णयले तीन दशकअघिको प्रहरी नेतृत्वमाथिको राजनीतिक हस्तक्षेपको घटना पुनः स्मरण गराएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई प्रहरी संगठनको नेतृत्व सुम्पिने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको मन्त्रिपरिषद् स्रोतले जनाएको छ। त्यस्तै, वर्तमान आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णयसमेत भएको बताइएको छ ।

सरकारको यो निर्णयले प्रहरी संगठनभित्र मात्र नभई सुरक्षा क्षेत्र र राजनीतिक वृत्तमा समेत बहस सिर्जना गरेको छ। प्रहरी महानिरीक्षकको पदावधि, नेतृत्वको निरन्तरता, संगठनको व्यावसायिक स्वायत्तता र सरकारको निर्णय प्रक्रियालाई लिएर प्रश्न उठ्न थालेका छन्।

विशेषगरी, प्रहरी संगठनको सर्वोच्च पदमा कार्यरत नेतृत्वलाई बीचमै हटाएर अर्को अधिकृतलाई नियुक्त गर्ने निर्णयले २०५३ सालको चर्चित घटनालाई झल्काएको छ। त्यतिबेला तत्कालीन गृहमन्त्री वामदेव गौतमले प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेललाई पदबाट हटाएर ध्रुवबहादुर प्रधानलाई प्रहरी महानिरीक्षक बनाएका थिए।

गृहमन्त्री बनेको ३६ दिनमै गौतमले प्रहरी संगठनको नेतृत्व परिवर्तन गर्ने निर्णय गरेका थिए। २०५३ चैत २१ गते खरेललाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर अनुसन्धान विभागको प्रमुखमा सरुवा गरिएको थियो। त्यसबेला प्रहरी महानिरीक्षकलाई दरबन्दी नै नभएको स्थानमा सरुवा गरिएको भन्दै उक्त निर्णय विवादित बनेको थियो।

तर उनी सरकारको निर्णय स्वीकार गरेर नयाँ जिम्मेवारी सम्हाल्न गएनन्। बरू आफूमाथि अन्याय भएको भन्दै सर्वोच्च अदालत पुगे। त्यसपछि प्रहरी महानिरीक्षक नियुक्ति र हटाउने सरकारी अधिकारमाथि कानुनी विवाद सुरू भयो। अदालतमा महिनौंसम्म मुद्दा चल्यो। न्यायाधीशहरूबीच नै राय बाझियो।

पछि खरेल फेरि प्रहरी महानिरीक्षक बने। तर उनलाई सर्वोच्च अदालतको अन्तिम फैसलाले नभई सरकार परिवर्तन भएपछि नयाँ मन्त्रिपरिषदले अघिल्लो निर्णय उल्ट्याएर पदमा फर्काएको थियो।

२०५४ मंसिरमा सूर्यबहादुर थापा नेतृत्वको सरकारले खरेललाई प्रहरी महानिरीक्षकमा फर्काउँदा उनलाई हटाउने निर्णयविरूद्ध सर्वोच्चमा परेको मुद्दा विचाराधीन नै थियो।

यसरी एउटा सरकारले हटाएको प्रहरी प्रमुख अर्को सरकारले पुनर्बहाली गराएको त्यो घटना नेपालको प्रहरी इतिहासमा राजनीतिक हस्तक्षेपको चर्चित उदाहरण बनेको छ।

अहिले प्रधानमन्त्री बालेन शाहको सरकारले दानबहादुर कार्कीलाई महानिरीक्षकबाट हटाएर मनोज केसीलाई प्रहरी संगठनको नेतृत्व सुम्पेपछि विगतको त्यही घटना फेरि सान्दर्भिक भएको छ।

उच्च सुरक्षा अधिकारीलाई कार्यकाल पूरा नहुँदै हटाउने निर्णय गर्दा सरकारले पर्याप्त कानुनी आधार प्रस्तुत गर्नुपर्छ कि पर्दैन भन्ने प्रश्न अहिले पनि उत्तिकै महत्त्वपूर्ण छ।