वि.सं.२०८१ माघ ७ सोमवार

फलोअप : बलात्कार प्रकरण, मिलापत्र गराउने शिक्षिका-वडा सदस्यसहित ६ जना पक्राउ

सबैका अगाडि ‘बाबा’ भन्ने राति आफूलाई श्रीमान् स्वीकार्न दबाब

जुम्लामा धर्मपुत्रीको रूपमा राखेकी १३ वर्षीया बालिकामाथि बलात्कारको आरोप लागेका र घटना मिलापत्र गराउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

याे पनि पढ्नुहाेस्

फलोअप : जुम्लाकी १३ वर्षीया बालिकामाथि बलात्कार, पक्राउ परे आरोपित प्रेमजंग महत

कुशे गाउँपालिकाकी १३ वर्षीया बालिकामाथि करणी, ७ लाख पाएपछि गुपचुप रह्यो काण्ड

नाबालिका बलात्कार गरेको आरोपमा प्रहरीले २९ साउनमा आरोपित प्रेमजंग महतलाई पक्राउ गरेकाे थियाे ।

घटना मिलापत्र गराउने कार्यमा संलग्न रहेको भन्दै अन्य ५ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो ।

अझै तीन जना फरार रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले जानकारी दिए ।

जबरजस्ती करणीको घटना मिलापत्र गराएको भन्दै प्रहरीले चन्दननाथ नगरपालिका- ५ का वडा सदस्य कालीबहादुर भण्डारी, चन्दननाथ–४ का नवराज भारती, तातोपानी गाउपालिका–८ का ईश्वरी आरसी, सर्मिला महत, उर्मिलाकुमारी महतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

पक्राउ पर्ने उर्मिलाकुमारी महत शिक्षिका हुन् । उनी स्थानीय एक विद्यालयको आधारभूत तहका विद्यार्थीलाई पढाउने गर्छिन् । मिलापत्र गराउने कार्यमा संलग्न अधिवक्ता दिलबहादुर महत, महेन्द्र महत र जीवन महत फरार रहेको प्रहरीले जनाएको छ ।

जाजरकोट स्थायी घर भएर आमासँग जुम्ला सदरमुकाम खलंगा आएकी १३ नाबालिकामाथि चन्दननाथ नगरपालिका–७ निवासी महतले एक महिनासम्म पटकपटक जबरजस्ती करणी गरेको पीडित पक्षको आरोप छ । नाबालिकालाई महतले छोरीका रूपमा घरमा राखेर पढाइदिने आश्वासन दिएर आफ्नो घरमा राखेका थिए ।

जबरजस्ती करणी गरेको घटना बाहिर आएपछि ७ लाख रुपैयाँको लेनदेनमा घटना मिलापत्र गरिएको छ । अधिवक्ता दिलबहादुरसहित आठ जनाको रोहवरमा ७ लाखमा रुपैयाँमा घटना मिलापत्र गरिएको हो ।

मिलापत्रमा जबरजस्ती करणीको घटनाबारे कतै केही उल्लेख छैन । मिलापत्रमा बालिकालाई पठनपाठन सहयोगका लागि भनेर रकम दिइएको कागज बनाइएको छ । बालिकालाई महतले पढाइदिने र घरायसी कामका लागि छोरी (धर्मपुत्री) बनाएर राख्ने बालिकाकी आमासँग सहमति गरी घरमा लगिएको बुझिएको छ । आमाले दोस्रो बिहे गरेकाले उनी पनि जुम्ला आएकी थिइन् । उनकी आमाले पसल चलाउँदै आएकी छन् ।

महतले जबरजस्ती करणी गरेको कुरा अरूसँग नभन्न र सबैका अगाडि ‘बाबा’ भन्ने राति आफूलाई श्रीमान् स्वीकार्न दबाब दिने गरेको ती पीडित बालिकाले बताएकी छन् । महतले आफूलाई जबरजस्ती करणी गर्ने र अरूसँग भने मारिदिन्छु भन्ने धम्की दिन थालेपछि नाबालिकाले मुसा मार्न प्रयोग हुने विष पनि खाएको बुझिएको छ ।

मुलुकी अपराधसंहिता, मुलुकी अपराध कार्यविधिअनुसार बलात्कारको घटना मिलाउनु कानुनविपरीत हो । बलात्कारका घटनामा मिलापत्र गराउनेलाई समेत ६ महिनादेखि ३ वर्ष कैद वा ३० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । मिलापत्र गराउने व्यक्ति सार्वजनिक पद धारण गरेको भए थप ६ महिना कैद हुने उल्लेख छ ।