भारतको हैदरावादस्थित सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमी (SVPNPA) मा सञ्चालित भारतीय पुलिस सेवा (IPS) 77 RR समूह अन्तर्गत ५ जना नेपाल प्रहरीका अधिकृतहरू दिक्षित भएका छन्।
उक्त प्रशिक्षणमा सहभागी नेपाली अधिकृतहरूले उच्च अनुशासन, दक्षता र नेतृत्व क्षमताको उत्कृष्ट प्रदर्शन गरेका थिए।
दिक्षितमध्ये प्रहरी निरीक्षक सगुन खड्काले “Best Foreign Officer Trainee in Phase-I” उपाधि प्राप्त गरी नेपाल प्रहरीलाई अन्तर्राष्ट्रिय स्तरमा गौरवान्वित बनाएका छन्।
उक्त उपलब्धिले नेपाल प्रहरीको प्रशिक्षण प्रणाली, पेशागत दक्षता र अन्तर्राष्ट्रिय सहकार्यप्रतिको प्रतिबद्धतालाई अझ बलियो बनाएको छ।
दीक्षान्त समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजका कार्यकारी निर्देशक प्र.अ.म.नि. शिद्धी बिक्रम शाह अतिथिका रूपमा उपस्थिति भएका थिए।
शाहले नेपाली अधिकृतहरूलाई बधाई दिँदै, अन्तर्राष्ट्रिय प्रशिक्षणले नेपालको सुरक्षा संयन्त्रलाई अझ सुदृढ बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरे।
एकेडेमीमा भारतसहित विभिन्न देशका प्रहरी अधिकृतहरू सहभागी हुने गर्दछन्। यस प्रशिक्षणले सहभागी अधिकृतहरूलाई रणनीतिक सोच, अपराध अनुसन्धान, नेतृत्व क्षमता, मानव अधिकार र सामुदायिक पुलिसिङका क्षेत्रमा विश्वस्तरीय ज्ञान प्रदान गर्ने उद्देश्य राखेको छ।
नेपाल प्रहरीका अधिकृतहरूको यो सहभागिता दुवै देशबीचको सुरक्षा सहकार्य र मैत्रीपूर्ण सम्बन्ध सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ।