सुदूरपश्चिम प्रदेशमा अपराध अनुसन्धान र सूचना संकलनका नाममा सादा पोशाकमा खटाइएका प्रहरीमाथि कारबाही प्रक्रियामा कडाइ भएको छ।
प्रदेशभर विवादमा आएका घुमुवालाई प्रदेश प्रहरी कार्यालयमै झिकाएर अनुसन्धान र कारबाही अगाडि बढाइएको हो।
हालै बझाङमा कार्यरत प्रहरी जवान संजय थापा र भुवन खड्कालाई विवादित घटनामा संलग्न देखिएपछि प्रदेश प्रहरी कार्यालयले तानेर छानबिन अघि बढाएको छ।
दुवै जनाको भिडियोसहितको समाचार कान्तिपथ र खप्तडटिभीले बाहिर ल्याएर समाचार प्रकाशित गरेको थियोे ।
समाचार प्रकाशित भएपछि कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी खगेन्द्र धमलाले पुष्टि गरेका छन्।
यसअघि भारतमा पैँसा चोरी प्रकरणमा विवाद भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले सई गजेन्द्र चन्द नेतृत्वको पुरै सादा पोशाकमा खटिएको टोली नै हटाएको छ।
उनीहरू सबैलाई जिम्मेवारीबाट हटाएको जनाइएको छ।
यसैक्रममा वडा प्रहरी कार्यालय धनगढीका जवान जय धामीलाई पनि जिम्मेवारीमुक्त गरिएको छ।
कैलाली प्रहरीमा विशेषगरी सादा पोशाकका घुमुवा गैरव्यवसायिक हुँदै गएको आरोप लाग्दै आएको छ।
अहिले पनि नयाँ नेतृत्वको लागि हानथाप भैरहेको प्रहरी वृतमा चर्चा छ।
यसबाहेक अन्य प्रहरी अधिकृतको पनि उजुरीहरु छानबिन भैरहेको सुदूरपश्चिम प्रदेशका डीआईजी डम्बरबहादुर विकले जानकारी दिए।
उनका अनुसार लामो समयदेखि सादा पोशाकमा खटिएका र विवादीत छविका प्रहरीलाई कारबाही गर्ने काम अघि बढाएको हो।
सुदूरपश्चिममा ‘घुमुवा’ प्रहरीलाई लिएर पटक–पटक विवाद उठ्दै आएको छ। व्यक्तिगत आचारण, बेथिती र शक्ति प्रयोगका कारण उनीहरु निरन्तर निगरानीमा पर्ने गरेका छन्।
याे पनि पढ्नुहाेस्
समाचार प्रकाशित भएपछि घुमुवा प्रहरी संजय थापाले मलाई कार्वाही भयो भने, तपाई पनि कार्वाहीमा पर्नुहुन्छ, अनि तपाईको पनि के हुन्छ, पछि थाहा हुन्छ भन्दै टेलिफोनमार्फत पत्रकार विकलाई धम्की समेत दिएका थिए ।
घुमुवा प्रहरीबारे समाचार लेख्दा पत्रकार विकलाई ज्यान मार्ने धम्की, साइबर ब्यूरोमा उजुरी दर्ता