वि.सं.२०८१ असार १ शनिवार

पूर्वडिआइजी महेशविक्रम शाहसहित २ जनालाई ३ वर्ष कैद सजाय

विशेष अदालतले नेपाल प्रहरीका पूर्वडिआइजी महेशविक्रम शाहसहित दुई जनालाई भ्रष्टाचार मुद्दामा ३ वर्ष कैद सजाय निर्धारण गरेको छ।

अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले पूर्वडिआइजी शाह र पूर्वसई दिपेन्द्रप्रसाद पनेरूलाई जनही ३ वर्ष कैद सजाय निर्धारण गरेको हो ।

यस्तै उनीहरूलाई बिगो रकम १६ लाख ६९ हजार ४२ रुपैयाँ दाबी गर्दै मुद्दा दायर भएको थियो ।

२०७२ सालमा मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा उनले नामै नभएका कर्मचारीको तलब, रासन बुझी राज्यकोषबाट लाखौं ठगी गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूमाथि अनुसन्धान गरेको थियो।

२०४६ माघमा प्रहरी सेवामा प्रवेश गरेका शाहले ३० वर्षे सेवा अवधिका कारण आरोप लाग्नुभन्दा एक महिनाअघि अवकाश पाएका थिए । आयोगले ४ जनाको संलग्नता देखिएको भन्दै मुद्दा दायर गरेको थियो।

आयोगले २०७६ फागुन २० गते पूर्वडिआइजी शाह, पूर्वसई पनेरू, प्रहरी हवल्दार केशवसिंह ऐरी र लेखापाल सञ्जीव विशुंखेविरूद्ध मुद्दा दायर गरेको थियो। ऐरी र विशुंखेले सफाइ पाएका छन्।

याे पनि….

नेपाल प्रहरीका पूर्वडिआइजीसहित दुई जना भ्रष्टाचार मुद्दामा दोषी ठहर