सर्वोच्च अदालतले नक्कली सवारी चालक अनुमति पत्र बनाएर भ्रष्टाचार गरेको आरोप लागेका यातायातका कर्मचारीसहित १६ जनालाई सर्वोच्च अदालतले सफाइ दिएको छ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासले सवारी चालक अनुमति पत्र कार्यालय बागमतीका तत्कालीन निमित्त प्रमुख रामदत्त भट्टसहित सबै अभियुक्तले सफाइ पाउने फैसला सुनाएको हाे ।
उनीहरूलाई विशेष अदालतले पनि सफाइ दिएको थियो । सर्वोच्चले विशेषको निर्णय सदर गरेको हो ।
विशेष अदालतले सबैलाई सफाइ दिएपछि उक्त फैसलामा चित्त नबुझाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च पुगेको थियो । सर्वोच्चले पनि सफाइ दिएपछि यातायातका कर्मचारी पुन जागिरमा फर्कन पाउने भएका छन् ।
२०७१ भदौमा यातायात व्यवस्था कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा घुस लिई ६ महिनाको अवधिमा प्रयोगात्मक परीक्षामा फेल भएका १९७ जनालाई ड्राइभिङ लाइसेन्स दिएको दाबीसहित अख्तियारले मुद्दा दायर गरेको थियो ।
प्रयोगात्मक परीक्षामा फेल भएपछि नियमविपरीत ३ महिनाअगावै पुनः प्रयोगात्मक परीक्षामा सहभागी गराई ५७३ जनालाई अनियमित तरिकाबाट कार्यालयको ढड्डा तथा कम्प्युटर अभिलेख सच्याएर चालक अनुमति पत्र जारी गरेको अख्तियारको अभियोग पत्रमा दाबी थियो ।
अख्तियारले ७ बिचौलियासहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । ५३ लाख ७८ हजार रुपैयाँ कुल बिगो दाबी गरिएको थियो ।